अभिनेता राजेश हमाल चार वर्षपछि फिल्ममा कमब्याक गर्दैछन् । ‘सकुन्तला’ पछि अफर आएका थुप्रै फिल्म अस्वीकार गरेका उनले गएको महिना फिल्म ‘सत्यम्’ साइन गरेका हुन् । अहिले यो फिल्मको स्क्रिप्टलाई बलियो बनाउन उनी आफैं भिडिरहेका छन् । आउँदो चैत अन्तिम साताबाट छायांकन सुरु हुन लागेको फिल्ममा अनुपविक्रम शाही र पल शाहको पनि अभिनय रहनेछ ।
हमालले ‘सत्यम्’ भन्दा अगाडि आफू अरु फिल्ममा आबद्ध नहुने बताएका छन् । यो फिल्म प्रदर्शनपछि केही समय ब्रेक लिनसक्ने उनको भनाई छ । मंगलवार एक अन्तर्वार्तामा उनले भने( ‘अहिले मेरो ध्यान सबै यही ‘सत्यम्’ फिल्ममा छ । यो प्रोजेक्टका लागि हामीले व्यापक रुपमा गृहकार्य गरिरहेका छौं ।’ उनले विगतमा झैँ अब आफू लगातार फिल्म गर्ने योजनामा नरहेको बताएका छन् ।




