सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनसिप २०२६ मा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। बिहीबार इस्लामावादस्थित लियाकत व्यायामशालामा भएको आफ्नो दोस्रो खेलमा नेपाल श्रीलंकासँग ३–२ को सेटमा पराजित भएको हो।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले पहिलो सेट २५–१८ ले गुमाएको थियो। त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै दोस्रो र तेस्रो सेट क्रमशः २५–२१ र २५–१९ ले आफ्नो पक्षमा पार्दै खेलमा २–१ को अग्रता बनाएको थियो।
तर चौथो सेटमा लय कायम राख्न नसक्दा नेपाल २५–२१ ले पराजित भयो र खेल निर्णायक पाँचौँ सेटमा पुग्यो। अन्तिम सेटमा श्रीलंकाले उत्कृष्ट प्रदर्शन गर्दै १५–१० को जित निकाल्दै खेल ३–२ ले आफ्नो पक्षमा पार्यो।
यसअघि नेपाल पहिलो खेलमा पनि काजकिस्तानसँग ३–२ को सेटमा पराजित भएको थियो। लगातार दोस्रो हारसँगै नेपालको प्रतियोगितामा चुनौती थपिएको छ।
नेपालले अब आफ्नो तेस्रो खेल शुक्रबार आयोजक पाकिस्तानसँग खेल्नेछ। उक्त खेलमा जित निकाल्दै प्रतियोगितामा पहिलो सफलता हात पार्ने लक्ष्य नेपाली टोलीको हुनेछ।




