तीजको दर खाने कार्यक्रम स्थगित गर्दै बुहारी समूह, तेर्सापट्टीले रसुवा–भोटेकोशी बाढीपीडितका लागि ७८ हजार १७५ रुपैयाँ सहयोग गरेको छ।
समूहका ४६ सदस्यबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समूहकी अध्यक्ष निलम श्रेष्ठले जानकारी दिइन्।
भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउँदै सयौँ परिवारलाई पीडामा पारेका बेला आफ्नो पर्वको खुसीलाई थाती राखेर पीडितको दुःखमा साथ दिने उद्देश्यले सहयोग गरिएको अध्यक्ष श्रेष्ठले बताइन्।
तीजको दरका लागि छुट्याइएको रकम विपद्मा परेका नागरिकको राहतका लागि समर्पण गर्दै समूहले चाडपर्व केवल उत्सव र रमाइलोका लागि मात्र नभई दुःखमा परेकालाई साथ दिने मानवीय अवसर पनि भएको जनाएको छ।
समूहकी सहसचिव विनीता श्रेष्ठले विपद्को कठिन समयमा सानो सहयोगले पनि पीडित परिवारमा आशा र राहतको अनुभूति दिलाउन सक्ने बताउँदै आगामी दिनमा समेत सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।
समूहले बाढीपहिरोमा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभ र बेपत्ताको खोजी तथा उद्धारमा सबै पक्ष जुट्न आग्रह गरेको छ।




