पोखरा । नेपालले यूएईलाई ४४ रनले पराजित गर्दै एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपको उपाधि जितेको छ। उपाधिसँगै नेपालले आगामी एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ।
बायुमास क्रिकेट ओभलमा नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमै अलआउट भयो।
यूएईका राहुल चोपडाले १०५ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक १०० रन बनाए। सोहाइब खानले ५२, तानिस सुरीले ४२ र हरप्रित भाटियाले ३३ रन जोडे। तर, अन्य ब्याटरले उल्लेख्य योगदान दिन नसक्दा यूएई लक्ष्यसम्म पुग्न सकेन।
नेपालका करण केसीले ९ ओभरमा ४९ रन खर्चेर ३ विकेट लिए। ललित नारायण राजवंशीले २ विकेट लिए भने सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, गुलशनकुमार झा र बासिर अहमदले समान १ विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको थियो। नेपालका आसिफ शेखले १०६ बलमा ८ चौका र ४ छक्कासहित १०२ रन बनाए।
गुलशनकुमार झाले ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन जोडे। अर्जुन कुमालले ४३ तथा रोहितकुमार पौडेलले ४० रन बनाए। ईशान पाण्डेले १३, दीपेन्द्रसिंह ऐरीले १८, सन्दीप जोराले ७ र करण केसीले १ रन बनाए।
यूएईका इब्रार अहमदले ४ विकेट लिए भने खुजाइमा बिन तनवीरले २ तथा हैदर अली र अदीब उस्मानीले समान १ विकेट लिए।
नेपालले अन्तिमपल्ट सन् २०२३ मा एसिया कप खेलेको थियो। त्यस प्रतियोगितामा नेपालले भारत र पाकिस्तानसँग समूह चरणमा प्रतिस्पर्धा गरे पनि जित निकाल्न सकेको थिएन।
यसपटक एसीसीले प्रिमियर कपको विजेताले मात्र एसिया कपमा सहभागिता जनाउने नियम बनाएपछि नेपालमाथि उपाधि जित्नैपर्ने दबाब थियो। यूएईलाई पराजित गर्दै नेपालले उक्त दबाब पार गर्दै एसिया कपमा पुनरागमनको बाटो खोलेको हो।




