स्पेनको दोनोस्तीमा रहेका नेपालीहरूले भोटेकोशी बाढीपीडितका लागि २२ लाख रुपैयाँ राहत संकलन गरेका छन् ।
खेलकुदकर्मी तथा समाजसेवी अशोक लामा रुम्बाको नेतृत्वमा संकलित केही रकम बाढी प्रभावित क्षेत्रमा पु¥याएर आवश्यकताका आधारमा वितरण गरिने भएको छ ।
संकलित रकममध्ये पहिलो चरणमा आठ लाख चार हजार पाँच सय ५० रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकमार्फत बाढी प्रभावीत प्रधानमन्त्री राहत कोषमा पठाइएको र बाँकी करिब १४ लाख रुपैयाँ टोलीले प्रभावित क्षेत्रमा पुगेर स्थानीय सङ्घसंस्थासँगको समन्वयमा वितरण गर्ने रुम्बाले जानकारी दिनुभयो ।
लायन्स क्लब अफ लेकसाइड पोखराको समन्वयमा राहत वितरणको तयारी भइरहेको पोखराका पर्यटन व्यवसायी श्रीकृष्ण श्रेष्ठले बताउनुभयो । यसबाट प्रभावित परिवारको वास्तविक आवश्यकता पहिचान गरी सहयोग गर्न सहज हुने अपेक्षा गरिएको छ । राहत अभियानमा स्पेनको रेन्तेरिया नगरपालिकासहित दोनोस्तीमा रहेका नेपाली तथा अन्य शुभचिन्तकले सहयोग गरेका छन् । रुम्बाले सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको छ । कराँतेका अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक एवं रेफ्रि रुम्बाले नेपालमा परेको दुःखमा आफुहरु सात समुद्र पारी भए पनि नेपालीको दुःखमा आफुहरुले सानो मलम मट्टि लगाउने प्रयास गरेको बताउनु भयो ।
यसैबीच, नेपाली समाज दोनोस्तीले बडादशैंका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । रुम्बाको नेतृत्वमा आयोजित कार्यक्रममा स्पेनमा रहेका नेपालीहरू भेला भएर दशैंको शुभकामना साटासाट गरेका थिए । कार्यक्रममा सहभागीहरूले नेपाली भेषभूषा लगाउनुका साथै विभिन्न परिकारको स्वाद लिएका थिए । समाजले नेपाली संस्कृति, परम्परा र आपसी सद्भाव कायम राख्न हरेक वर्ष विभिन्न चाडपर्व मनाउँदै आएको जनाएको छ । समाजले प्रवासमा रहेका नेपालीबीच एकता, सांस्कृतिक निरन्तरता र मातृभूमिप्रतिको आत्मीयता बलियो बनाउन राहत तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको छ ।




