पोखरामा भुटान राष्ट्रिय क्रिकेट टोली, नेपाल क्रिकेट संघ (क्यान)–११ र गण्डकी प्रदेश क्रिकेट टोलीबीच चार खेलको क्रिकेट शृंखला आयोजना हुने भएको छ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आयोजना हुने खेलले पोखराको क्रिकेट गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।
निर्धारित खेलतालिकाअनुसार पहिलो खेल सेप्टेम्बर २७ मा गण्डकी एक्स–११ र भुटान एक्स–११ बीच हुनेछ। उक्त खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। दोस्रो खेल सेप्टेम्बर २८ मा भुटान एक्स–११ र गण्डकी एक्स–११ बीच हुनेछ। उक्त खेल बिहान १० बजे सुरु हुनेछ।
त्यसैगरी सेप्टेम्बर ३० मा नेपाल क्रिकेट संघ (क्यान)–११ र भुटान एक्स–११ बीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल पनि पोखरा रंगशालाको क्रिकेट मैदानमा बिहान १० बजे सुरु हुने तालिका छ। शृंखलाको चौथो तथा अन्तिम खेल अक्टोबर १ मा भुटान एक्स–११ र क्यान–११ बीच हुनेछ। अन्तिम खेल भने बिहान ९ बजे सुरु हुनेछ।
चार खेलको शृंखलामा गण्डकी प्रदेशको टोलीले भुटानसँग दुई खेल खेल्नेछ भने क्यान–११ र भुटान एक्स–११ बीच पनि दुई खेल हुनेछ। यसले गण्डकीका खेलाडीलाई अन्तर्राष्ट्रिय टोलीसँग मैदानमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नेछ।
पोखरामा पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधि बढ्दै गएको अवस्थामा भुटानको टोलीको भ्रमण र खेल आयोजनाले यहाँको क्रिकेट वातावरणलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय टोलीसँग हुने खेलले स्थानीय खेलाडीलाई अनुभव हासिल गर्ने, आफ्नो क्षमता प्रदर्शन गर्ने तथा उच्चस्तरीय क्रिकेटको अनुभव लिने अवसरसमेत दिनेछ।




