मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कुल ३२ वटा खेल समावेश गरिने भएको छ।
आइतबार वीरेन्द्रनगरस्थित कभर्ड हलमा बसेको बैठकले प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली (एनआरएन) को टोली गरी ११ टोलीले सहभागिता जनाउने निर्णय गरेको हो।
नेपाल सरकारको भदौ २२ गतेको निर्णयअनुसार १०औँ राष्ट्रिय खेलकुद आयोजनासम्बन्धी विभिन्न विषयमा बैठकले निर्णय गरेको जनाइएको छ। प्रतियोगिताको सम्पूर्ण खर्च नेपाल सरकारबाट प्राप्त १०औँ राष्ट्रिय खेलकुद आयोजनाको बजेटबाट व्यवस्थापन गरिने भएको छ।
प्रतियोगितापछि पहिलोपटक पारा राष्ट्रिय खेलकुद प्रतियोगिता समेत आयोजना गर्ने निर्णय गरिएको छ।
१०औँ राष्ट्रिय खेलकुदमा एथ्लेटिक्स, कुस्ती, ब्याडमिन्टन, कबड्डी, बक्सिङ, कराते, बास्केटबल, फुल कन्ट्याक्ट कराते, शारीरिक सुगठन, आईटीएफ तेक्वान्दो, क्रिकेट, टेबल टेनिस, फुटबल, बुद्धिचाल, ह्यान्डबल, जुडो, खो–खो, रग्बी, पौडी, तेक्वान्दो, टेनिस, भलिबल, आर्चरी, उसु, जिम्न्यास्टिक, भारोत्तोलन, हक्की, ई–स्पोर्ट्स, स्वाक्स, सुटिङ, साइक्लिङ र सेपाकताक्रो खेल समावेश छन्।
प्रतियोगितामा महिला तथा पुरुषतर्फका विभिन्न विधासमेत सञ्चालन हुनेछन्। राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक पूर्वाधार, खेलाडी व्यवस्थापन, प्रतियोगिता सञ्चालन तथा अन्य तयारीका कामलाई तीव्रता दिइने आयोजकले जनाएको छ।
कर्णाली प्रदेशमा आयोजना हुन लागेको १०औँ राष्ट्रिय खेलकुदलाई प्रदेशको खेलकुद विकास, खेलाडीको क्षमता प्रदर्शन तथा राष्ट्रियस्तरमा नयाँ प्रतिभा पहिचान गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।




