जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई सात दिन म्याद थप गरेर अनुसन्धान गर्ने भएको छ।
अदालतले यही असोज २० गतेदेखि लागू हुने गरी २७ गतेसम्मका लागि म्याद थप गरेको हो।
प्रहरीले आज लामिछानेलाई म्याद थपका लागि अदालतमा पेस गरेको थियो। म्याद थपका क्रममा न्यायाधीश दयाराम ढकालसमक्ष आफू निर्दोष भएको र आफूले जबरर्जस्ती करणी नगरेको जिकिर गरेको अधिवक्ता शक्ति पाठकले जानकारी दिए
अदालतमा लामिछानेले जाहेरवाली १९ वर्षको भएको र नाबालिका नभएकोसमेत न्यायाधीश समक्ष बताएका थिए। यसैबीच सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाएकी पीडित नाबालिग नभएको सन्दीपको वकिलको समेत भनाइ छ।
सन्दीप लामिछानेकाे वकिल सुधा रिजालले सोमबार काठमाडौं जिल्ला अदालत बाहिर पत्रकारसँग कुराकानी गर्दै भनिन्,‘उहाँले दुईवटा जन्मदर्ता बनाएको देखिएको छ। सिलसिलाबद्ध रूपमा सन्दीपलाई फसाउन खोजिएको देखिन्छ।’
लामिछानेलाई नाबालिकामाथि जबरर्जस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि न्यायिक हिरासतमा राखिएको छ। प्रहरीले यही असोज २० गते अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो। दसैँ बिदापछि आजदेखि अदालत खुलेको हुनाले म्याद थपका लागि लगेको हो।




