नाबालिग किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका क्रिकेटर सन्दिप लामिछानेविरुध्द १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ।
सरकारी वकिलको कार्यालयले आज काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुध्द मुद्दा दर्ता गरेको छ ।
उनीविरुध्द बलात्कार पुष्टि हुने पर्याप्त प्रमाण रहेको बताइएको छ। प्रहरीले एक हप्ताअघि नै अनुसन्धान सकाएर सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो। लामिछानेविरुध्दको मुद्दामा आजदेखि नै थुनछेक बहस शुरु हुने जानकारी दिइएको छ।
अब उनले प्रहरी हिरासतबाटै आफूविरुध्दको मुद्दा लड्ने भएका छन्। प्रहरी प्रतिवेदनमा मुलुकी फौजदारी अपराधसंहितामा १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बलात्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेकाले सोहीबमोजिम १२ वर्षसम्मको कैद सजाय मागदाबी गरिएको छ।
काठमाडौंको गौशालास्थित एक होटलको कोठामा सन्दिपले आफूलाई रातभर बलात्कार गरेको आरोपमा १७ वर्षीयाका नातेदारले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेका थिए । तर विदेशमा रहेका कारण सन्दिपलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षबाट प्रहरी नियन्त्रणमा लिइएको थियो ।
सन्दिपले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् ।




