कास्की । पोखरमा बुधबारदेखि २४ औँ पोखरा सडक महोत्सव सुरु भएको छ । सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ भन्ने नारासहित रेवान पोखराले अङ्ग्रेजी नयाँ वर्षको स्वागतमा विगत २३ वर्षदेखि महोत्सवको आयोजना गर्दै आएको छ ।
लेक साइडको हल्लन चोकबाट सुरु विभिन्न सांस्कृतिक झाँकीसहितको र्यालीले कोमागाने पार्क पुगेर औपचारिक रुपमा सुरु भएको छ । महोत्सवको पोखरा महानगरपालिका मेयर धनराज आचार्यले उद्घाटन गर्नुभयो ।
पोखराको फिस्टेल गेटदेखि डिहिकोपाटन सम्मको करिब ३ किलोमिटर खुल्ला सडकमा महोत्सव सञ्चालन भएको छ । विभिन्न झाँकीमा स्वदेशी तथा विदेशी पर्यटकहरू रमाएका थिए । स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी मेला आयोजना गरिएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताउनुभयो ।
खुल्ला सडकमा टेबल कुची निकाली सडकमै खाने, सडकमै सांस्कृतिक तथा विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन् । महोत्सवलाई लक्षित गरि लेकसाइड क्षेत्र दुलही झैँ सिँगारिएको छ । पुस १७ गते सम्म सञ्चालन हुने महोत्सव रङ्गीचङ्गी भएको छ । महोत्सव सञ्चालन हुने दायाँबायाँका सडकहरूमा रङ्गरोगन गरिएको छ भने रङ्गीचङ्गी ध्वजा पताकाले टाँगेर सिँगारिएको छ । तस्विर : बसन्त शेर्पा





