नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चौथो चरणको आन्दोलन अन्तर्गत आज काठमाडौंमा मानव साङ्गलोले टुँडिखेल घेराउ गर्दैछ । करिब ७ हजार मानव साङ्लोले टुँडिखेल घेरिने भएको छ ।
प्रतिनिधिसभा विघटन, महँगी र भ्रष्टाचारविरुद्ध आन्दोलन गर्दै आएको नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार दिउँसो चार बजेदेखि ५ बजेसम्म एक घन्टा टुँडिखेल घेराउ गर्न लागेको नेकपा केन्द्रीय कार्यालयका कार्यालय सचिब गंगालाल तुलाधरले जानकारी दिए । तुलाधरकाअनुसार मानव साङ्लोका लागि उपत्यकाका जिल्ला कमिटी र जनवर्गीय संगठनहरु परिचालन हुँदैछ ।
मानव साङ्लोका लागि मजदुरहरु भोटाहिटीदेखि रत्नपार्कको आकाशे पुलसम्म, काठमाडौं, ललितपुर भक्तपुर जिल्ला कमिटी कार्यकर्ता रत्नपार्कको आकाशे पुलदेखि भद्रकालीसम्म खटिनेछन् । यस्तै, विद्यार्थीहरु भद्रकालीदेखि सुन्धारासम्म खटिनेछन् भने बाँकी भूभागमा सम्पर्क कमिटी, जबस मोर्चाका युवाहरु रहनेछन् ।




