‘प्रथम हिमालयन ब्रुअरी तथा बाह्रौं बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता’अन्तर्गत सेमिफाइनलको खेलहरु सकिएको छ ।
टुँडीखेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा अन्तिम चारमा पोखराको दीप युनाइटेड भेट्रान क्लब, फ्रिडम फाइटर ए, काठमाण्डौ, ठमेल ११ भेट्रान र थापा गाउँ भेट्रान काठमाण्डौले सेमिफाइनल यात्रा तय गरेका छ ।
आजको खेलमा काठमाण्डौले बुटवल भेट्रानलाई १–० गोलले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । ठमेलको जीतमा सागर थापाको गोल नै निर्णायक बन्यो । खेलमा तासी छिरिङ म्यान अफ दि म्याच घोषित भए । त्यस्तै, पोखराको स्थानीय दीप युनाइटेडले पाहुना टोली चितवन भेट्रानलाई १–० गोलले पराजित गर्दै अघिल्लो चरणमा पुग्यो । खेलमा म्यान अफ दि म्याच बनेका अर्जुन कुमार गुरुङले गरेको एक गोल नै जित्न पर्याप्त रह्यो ।
त्यसैगरी, थापा गाउँ भेट्रान्स काठमाण्डौ र हेटौंडा भेट्रान्सबीचको खेल निर्धारित समयमा गोल हुन नसक्दा टाइब्रेकरमा पुग्यो । थापा गाउँले हेटौंडाको टोली विरुद्ध ३–१ ले पेनाल्टी सुट आउटमा खेल आफ्नो पक्षमा पार्यो । उक्त खेलमा थापा गाउँका शशी रिमाल म्यान अफ दि म्याच बने ।
आजको अन्तिम खेलमा पोखराको स्थानीय गार्डेन एफसी भेट्रान फ्रिडम फाइटर ए, काठमाण्डौँसँग २–० गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । खेलमा म्यान अफ दि म्याच राजकुमार घिसिङ र विकर्ण श्रेष्ठले १–१ गोल गरे ।
‘स्वास्थ्यका लागि एक घन्टा व्ययाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नाराका साथ सुरु भएको उक्त प्रतियोगिता माघ ८ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा भारत देहरादुनको एक टिम सहित २४ टिमको सहभागिता रहेको छ ।




