छोराको दुर्घटना बिमा हत्याउन बुहारीको बिभत्स हत्या गर्ने हेटौडा निवासी ससुरा प्रकाश थापासहित चार जनालाई अदालतले दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको छ ।
मकवानपुर जिल्ला अदालतले हेटौंडा उपमहानगरपालिका–४ कर्रा निवासी रुपेन्द्र थापाको २०७६ असोज २३ गते मोटरसाईकल दुर्घटनामा मृत्यु भएकोमा उनको मृत्यु पछि प्राप्त हुने दुर्घटना बिमा हत्याउन उनका ससुरा, दुई नन्द र ज्वाईं मिलेर रुपेन्द्रकी श्रीमती २४ वर्षीया सुस्मिता केसीको २०७७ असार १ गते राति घरमा विभत्स ढंगले हत्या गरिएको ठहर गर्दै सुस्मिताका ससुरा प्रकाश थापासहित चार जनालाई अदालतले दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको हो ।
जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद सन्जेलको शुक्रबारको इजलाशले सुस्मिता केसीको हत्यामा दोषी ठहर गर्दै सुस्मिताकी ५८ वर्षीय ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, कान्छी नन्द सीता थापा र ज्वाई अरुण कार्कीलाई २५ वर्ष कैद गर्ने फैसला सुनाएको हो । सुस्मिताकी सासु तुलसा थापालाई हत्याको मतियार ठहर गर्दै १० वर्ष कैद सजायँ सुनाएको छ ।
प्राप्त विवरण अनुसार, सुस्मिताको २०७७ असार १ गते राति हेटौंडा उपमहानगरपालिका–४ कर्रास्थित घरमा विभत्स ढंगले हत्या गरिएको थियो । भान्सा कोठामा नन्द सीतासँगै खाना खाइरहेकी सुस्मिताको टाउकोमा ससुराले पछाडीबाट लौरो जस्तो काठले हिर्काएको अनुसन्धानबाट खुलेको छ ।
सुस्मिताले ज्यान बचाउन गुहार मागेपछि कान्छी नन्द सीताले मसला पिध्ने लोहोरोले टाउकोमा हिर्काएकी थिइन् । घरको भान्सामा विभत्स ढंगले हत्या गरिएको अवस्थामा सुस्मिताको शव फेला परेको थियो । परिवारले सुस्मिताको हत्यालाई आत्महत्या देखाउने प्रयास गरेको थियो ।
कपिलवस्तु वाणगंगा नगरपालिका माईती भएकी सुस्मिताकी पति रुपेन्द्र थापाको २०७६ असोज २३ गते मोटरसाईकल दुर्घटनामा मृत्यु भएको थियो । उनीहरुको विवाह २०७६ बैशाख १८ गते भएको थियो ।
पतिको दुर्घटनामा मृत्यु भएपछि सो बीमा रकम हात पार्नका लागि सुस्मिताको हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको थियो ।
अदालतको सो फैसलाले आफ्नी छोरीले न्याय पाएको सुस्मिताकी आमा गंगा केसीले बताईन् । ‘मेरो छोरीको हत्या गर्नेलाई अदालतले जसरी फैसला गर्यो त्यसले अपराधीहरुको मनोबल गिर्नेछ’, उनले भनिन् ‘यो फैसलाले मेरो छोरीले न्याय पाईन ।’




