सेवाग्राहीहरुलाई जेलजीवनको अनुभूति गराउने खालका क्रियाकलाप गराउदाइ आएको रुपन्देही जिल्लाको भैरहवास्थीत् जेल रेष्टुरेण्टलाई स्थानीय प्रशासनले बन्द गरिदिएको छ। सोमबार दिउसो उक्त रेस्टुरेन्ट अनुगमन गर्न पुगेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीको टोलीले रेष्टुरेण्टमामा आउने ग्राहकलाई लक्षित गरि रेष्टुरेण्टको कोठाहरु जेलको आकारमा बनाएको, हत्कडी लगाउने र आत्महत्या गर्न प्रोत्साहन गर्ने खालको क्रियाकलाप गरेको पाईएकोले रेष्टुरेण्ट बन्द गराएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले बताए । उनले स्थानिय मिडियाहरुबाट सो रेष्टुरेण्टबारे जानकारी भएको र अनुगमन गर्दा कैफियत देखिएको कारण बन्द गराईएको बताए ।
भैरहवाको देवकोटाचोकमा रहेको उक्त जेल रेष्टुरेण्टबाट अनुगमनको क्रममा रेष्टुरेण्टमा रहेको हत्कडी, बन्दुक जस्तो देखिने एयरगन र आत्महत्या गर्न प्रोत्साहन गर्ने फासी लगाउन प्रयोग गरिने पासो पनि प्रशासनले जफत गरेको छ ।
फरक प्रकृतिको देखिने भएको कारण पछिल्लो समय सो रेष्टुरेण्ट चर्चित भएको थियो । सहायक प्रजिअ अर्यालले रेष्टुरेण्ट बन्द गर्न लगाई भोली जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न आदेश दिएको बताए । उनले यसबारे आवश्यक अनुसन्धान गरि प्रचलित कानून अनुसार कार्यवाही गर्ने जानकारी दिए ।




