कांग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको अदानी समूहसँगको सम्बन्धबारे कडा प्रश्न उठाएका छन् ।
लोकसभाको सदस्यता खारेज भएपछि शनिबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री मोदी र अदानीबीच घनिष्ठ सम्बन्ध रहेको बताएका हुन् ।
उनले अदानी समूहका कम्पनीहरूबाट प्राप्त रकमको बारेमा पनि उनले प्रश्न उठाए । उनले भने, ‘मेरो सदस्यता रद्द गरियो किनभने प्रधानमन्त्री संसद्मा मेरो अर्को ९सम्भावित० सम्बोधनबाट डराएका थिए । उनी अदानीमाथि हुने अर्को भाषणबाट डराएका थिए। मैले उनको आँखामा देखेको थिएँ। उनी चाहँदैनन् त्यो भाषण संसदमा होस् ।’
आफ्नो बयानका लागि अदालतमा माफी माग्ने प्रश्नमा राहुल गान्धीले भने, ‘म सावरकर होइन, म गान्धी हुँ र गान्धीले माफी माग्दैनन्।’
उनले आफू कसैसँग नडराउने टिप्पणी गरे । गान्धीले सामाजिक सञ्जालमार्फत आफू कसैसँग नडराउने बताएका हुन् ।
मानहानि मुद्दामा दुई वर्षको सजाय पाउँदै सांसद पद गुमाएपछि गान्धीले आफूलाई जीवनभरका लागि अयोग्य घोषित गरेर जेल हाले पनि नडराउने भन्दै प्रश्न गर्न नछाड्ने उल्लेख गरे ।
यसअघि, बिहीबार सुरत जिल्ला अदालतले गान्धीलाई मानहानीको मुद्दामा दोषी ठहर गरेको थियो । दोषी ठहर भएसँगै कानुनअनुसार उनी सांसद हुन अयोग्य ठहर भएका हुन् ।
सन् २०१९ मा एक राजनीतिक सभामा गान्धीले ‘किन सबै मोदी थर भएका व्यक्ति चोर हुन्छन्’ भन्ने अभिव्यक्ति दिएका थिए । जसकारण उनलाई मानहानीको मुद्दामा दोषी ठहर गरिएको हो




