उत्तर प्रदेशको प्रयागराजमा पूर्व सांसद अतिक अहमद र उनका भाइ अशरफको शनिवार राती गोली हानी हत्या गरिएको छ । उत्तर प्रदेश प्रहरीले पूर्व सांसद अतिक अहमद र उनका भाइको हत्या भएको पुष्टि गरेको छ । प्रहरीका अनुसार आक्रमणकारी पत्रकार बनेर आएका थिए ।
तीनै आक्रमणकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसैबीच मुख्यमन्त्री योगी आदित्यनाथले यस घटनालाई लिएर उच्चस्तरीय बैठक बोलाएका छन् ।
योगी आदित्यनाथले पनि यस विषयमा उच्चस्तरीय छानबिनको आदेश दिएका छन् । घटनाको छानबिन गर्न तीन सदस्यीय न्यायिक आयोग पनि गठन गरिएको छ ।
घटनाको विवरण दिँदै प्रयागराजका प्रहरी आयुक्तले भने, ‘अतीक अहमद र उनका भाइ अशरफलाई कानुनी आवश्यकताहरू पूरा गर्न स्वास्थ परीक्षणका लागि लगिएको थियो । त्यही क्रममा यो घटना भएको हो ।’
अतिक अहमद र उनका भाइ अशरफमाथि आक्रमण हुँदा प्रहरीले उनीहरूलाई प्रयागराजको कोल्भिन अस्पतालमा स्वास्थ परीक्षणका लागि लगेको थियो ।
अस्पताल नजिकै प्रहरीले घेरिएका अतिक र असरफलाई पत्रकार बनेर आएका आक्रमणकारीले नजिकबाट गोली हानेका थिए र उनीहरूको मृत्युपछि धार्मिक नारा लगाएका थिए ।
प्रयागराजका प्रहरी आयुक्त रमित शर्माले भने, ‘पत्रकारले अतिक अहमद र उनका भाइसँग कुरा गरिरहेका थिए, त्यति नै बेला पत्रकारको रूपमा प्रस्तुत भएका आक्रमणकारीहरूले अचानक गोली चलाए । तीनै आक्रमणकारीलाई पक्राउ गरिएको छ ।’




