चार दिन अघि फेवाताल नजिकै रहेको पोखरा महानगरपालिका वडा.१८ स्थित गुफा डाँडाको जंगलमा अर्धचेत अवस्थामा फेला परेकी युवती अहिले बोल्न सक्ने अवस्थामा छिन । उनको पस्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा सोमबार टाउकोको अपरेशन गरिएको छ र उनी अहिले केही बोल्न सक्ने अवस्थामा छिन् ।
गोर्खा घर भइ हाल चितवन बस्दै आएकी उनलाई भेटिएको स्थान लेकसाइडको जरेवरदेखि करीब दुई मिनेटको दूरीमा रहेको छ । हाल निर्माणाधीन जरेवर, मेथलाङ, सराङकोट हाइकिङ पदमार्ग निर्माणका आबश्यक पर्ने सिमेन्ट तथा निर्माण सामग्री राख्न बनाएको सानो टिनको छाप्रो नजिक उनी अर्धचेत अवस्थामा भेटिएकी बताइएको छ।
शनिबार बिहान अर्धचेत अवस्थामा फेला परेकी ती युवतीको बारेमा कास्की प्रहरीले स्पस्ट जानकारी दिएको छैन भने त्यस घट्ना सम्बन्धमा आबश्यक अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी श्रबणकुमार बिकले जानकारी दिए। उनले अनुसन्धान चलिरहेकाले घाइते युवतीको पहिचान खुलाउन नमिल्ने बताए।
समाचार स्रोत भन्छ,”शनिबार बिहान घाइते अवस्थामा प्रहरीले उद्धार गर्दा ती युवतीले आफ्नो श्रीमानको फोन नम्बर दिदै खबर गरेकी थिइन्।” त्यसपछि प्रहरीले उनको परिवारलाई खबर गरे पनि उनीमाथि आक्रमण हुनुको कारण बारे चार दिन हुँदा पनि सुइँको समेत पाएको छैन। अहिले घाइते युवती केही बोल्न सक्ने अवस्थामा पुगेकाले अनुसन्धानमा केही सहज हुने प्रहरीले बताएको छ।




