पोखरा ।
हुम्लाका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने उद्देश्यले पोखरामा सांगीतिक
कार्यक्रम हुने भएको छ । यही जेठ २६ गते सभागृहमा साँझ ६ः३० बजेबाट
परोपकारी सांगीतिक साँझ हुन लागेको हो । एजुकेट नेपाल प्रोजेक्टले कर्मा
फ्लाइट फाउन्डेसनको मातहतमा रहेर उक्त कार्यक्रमको आयोजना गरेको हो ।
हुम्लाको नाम्खा गाउँपालिका (नेपालको अग्लो स्थानमा रहेको गाउँपालिका) का
१७ स्कुलका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्न लागेको एजुकेट नेपाल
प्राजेक्टका सोभित ठकुरीले जानकारी गराए । उनी पोखराका व्यवसायी पनि हुन् ।
पोखराको न्यूरोडमा कफी घर संचालन गर्दै आएका ठकुरीसँगै एजुकेट नेपाल
प्राजेक्टमा किरण पौडेल, निशान्त ढकाल, सुशान्त पौडेल, विज्ञान ढकाल, निसान
लामिछाने, राजु दास लगायत २४ जना युवाहरु भोलियन्टर रुपमा काम गर्दै आएका
छन् ।
आउँदो शुक्रबार हुने सांगीतिक कार्यक्रममा सुरज पण्डित, विनोद बानियाँ,
सिडी विजय अधिकारी, सन्तोष बस्याल,अदिती शर्मा र कमेडियन दिपक थापा लगायतको
प्रस्तुति रहने आयोजक संस्थाका सोभित ठकुरीले जानकारी गराए । उनका अनुसार
कार्यक्रममा प्रवेशका लागि २५०, ५०० र १००० रुपैयाँको टिकटको व्यवस्था
गरिएको छ । जसमा विद्यार्थीका लागि २५०, कर्मचारी टिकट ५००, र व्यापारीक
व्याक्ति र संघ संस्था टिकट भनेर १००० रुपैयाँ राखिएको उनले बताए ।
प्रेरणा, हौसला र सहयोग भन्ने मुल नाराका साथ आयोजना गरिएको
कार्यक्रमलाई सफल पार्न सम्पूर्ण पोखरेलीको सहयोग रहनेमा ठकुरी
आशावादी देखिन्छन् । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ । कमाउने
दृष्टिकोणले भन्दा पनि सेवाको भावनाले सांगीतिक कार्यक्रमको आयोजना
गरिएको भनाई उनको छ । शैक्षिक सामाग्रीको खाँचोमा परेको क्षेत्र हुम्लामा
उक्त सामाग्री वितरणको लागि विशेष गरी सचेतना र कोष जुटाउने लक्ष्य आफ्नो रहेको
उनले बताए ।
उसो त एजुकेट नेपाल प्राजेक्टले कर्मा फ्लाइट फाउन्डेसनसँग मिलेर विगत
लामो समय देखि दुर्गमका विद्यालयहरूको शैक्षिक क्षेत्रमा उल्लेखनीय कार्यहरू गर्दै
आएको छ । संस्थाले हालसम्म कालिकोट, गोरखा, बन्दीपुर, रुकुम, अस्थाम र अन्य
विभिन्न ठाउँहरूमा सहयोग गरिसकेको छ । यस्तै केही समय अगाडि पुर्वी रूकुमका
१५ विद्यालयका १ हजार ४ सय ७० विद्यार्थीलाई एक शैक्षिक वर्षको लागि पुग्ने
शैक्षिक सामाग्रीहरू वितरण गरेको थियो । शैक्षिक सामाग्री उपलब्ध भएसँगै उक्त
ठाउँका बालबालिकाहरुको पढ्ने मनोभावनामा फेरबदल आएको अभिव्यक्ति
ठकुरीको छ । शुक्रबार हुने सांगीतिक कार्यक्रम मार्फत उठेको आर्थिक
सहयोगबाट शैक्षिक सामाग्री लिएर टोली आउँदो असारको अन्तिममा हुम्ला प्रस्थान
गर्नेछ ।




