बाग्लुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको पोखरा–बागलुङ खण्डमा धमाधम सडक कालोपत्र भइरहेको छ । साँघुरो र धेरै ठाउँमा जीर्ण प्रायः बनेको भूपि शेरचन राजमार्गलाई अहिले राष्ट्रिय गौरवको आयोजनाको रुपमा मध्यपहाडी लोकमार्गको रुपमा स्तरोन्नति गर्ने क्रम तीव्र छ ।
पश्चिम क्षेत्रको सर्वाधिक चल्तीको मार्ग भए पनि यस सडकमा यात्रा गर्न सकसपूर्ण भएकाले अहिले लोकमार्गको विस्तार र स्तरोन्नतिसहित धमाधम सडक कालोपत्र भइरहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजनाले जनाएको छ । पोखराबाट पर्वत हुँदै बागलुङसम्मको ६२ किलोमिटर सडकमा धमाधम कालोपत्रको काम भइरहेको छ । अहिले कास्की जिल्लाको हेम्जाको छ लेन र पर्वत जिल्लाको कुश्मा बजारबाट अर्मादीसम्मको दुई लेन सडकमा कालोपत्रको काम भइरहेको छ भने घट्टेखोलाको पूलबाट कास्की नयाँ पुलसम्मको २५ किलोमिटर सडक कालोपत्र सम्पन्न भइसकेको मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख मेघराज मरासिनीले जानकारी दिए ।
“कोरोना कहरका कारण केही ढिला भएको थियो, अहिले निकै द्रुत गतिका साथ सडक कालोपत्र भइरहेको छ”, उनले भने, “भवितव्य नभए पोखरा–बागलुङ खण्डको काम यही असारसम्म सक्नेमा हामी विश्वस्त छौँ ।” विसं २०७४÷७५ मा पोखरा–बागलुङ खण्ड स्तरोन्नति गरी कालोपत्र गर्न उक्त ६२ किलोमिटर सडकलाई चार खण्डमा विभाजन गरी तीन वर्षका लागि ठेक्का लगाइएको थियो । ठेक्का अवधिभित्र कोरोनाका कारण पाँच महिना मात्रै समय अवधि थप गर्न सकिने आयोजना कार्यालय पर्वतका इञ्जिनीयर उज्जवल शर्माले बताए ।
मध्यपहाडी पुष्पलाल लोकमार्गको पोखरा–बागलुङ खण्डको ६२ किलोमिटरमध्ये झण्डै ४० किलोमिटर सडक कालोपत्र भइसकेको छ । अहिले सबै खण्डमा पूर्वाधार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अहिले पर्वत खण्डमा समेत सडक विस्तार र कालोपत्र दुवै काम शुरु भइसकेको छ । कास्कीको हेम्जा खण्डको ८० प्रतिशत सडक कालोपत्र सम्पन्न भइसकेको छ भने नयाँपुलबाट कुस्मा–बागलुङ खण्डमा करिब ३० प्रतिशत सडक कालोपत्र भइसकेको छ । अन्य स्थानमा धमाधम कालोपत्रका लागि बेस, सव बेस तथा ग्राभेल बिच्छ्याउने काम भइरहेको छ । साँघुरो कालोपत्र सडक भत्काएर दुई, चार र छ लेनमा विस्तार गरी कालोपत्र भइरहेको छ ।
लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डको कास्कीको हेम्जास्थित याम्दी पुलदेखि यताको छ किलोमिटर सडक शर्मा एण्ड कम्पनी जेभी, हेम्जाको दोस्रो खण्डको घट्टे पुलसम्मको छ किलोमिटर सडक स्वच्छन्दरइलाइन्ट जेभी, घट्टेखोलादेखि कास्की नयाँ पुलसम्मको २५ किलोमिटर सडक श्रेष्ठ÷दिवा÷एपेक्स जेभी र नयाँ पुलदेखि बागलुङ र पर्वतको सिमानास्थित माल ढुङ्गासम्मको २५ किलोमिटर सडक लामा कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको छ । छ लेनको सडक रहेको कास्कीको याम्दी पुलदेखि फेदीखोला नजिकैको ११ किलोमिटर र फेदीखोलासम्मको दुई लेनको एक किलोमिटर सडकको भौतिक प्रगति ८० प्रतिशत पुगेको आयोजना कार्यालयका कास्की खण्डका इञ्जिनीयर अनन्त बरालले बताए ।
मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्डमा धमाधम कालोपत्र
मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्डमा धमाधम कालोपत्र
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




