जब प्रतिभा मालीले चोट बोकिन् । धेरैले सोचेका थिए, प्रतिभा अब पुरानै रुपमा फर्कन सक्ने छैनन् ।
उनको चोटको प्रकृति समेत गम्भीर थियो । गम्भीर चोट बोकेका खेलाडी अक्सर पुरानै लयमा फर्किन सक्दैनन् ।
उनी नेपालको महिला भलिबलले पाएको उत्कृष्ट मध्यकी एक हुन् । प्रतिभाको चोटले सिङ्गो भलिबल परिवार स्तब्ध थियो ।
तर, प्रतिभाको चोटको शल्यक्रिया सफल भयो । सरकार अनि सबैको सहयोग मिल्यो । उनले महिनौं ‘रिहाब’ मा बिताईन् । सिङ्गो विश्व कोरोनाको डरमा थियो । प्रतिभा भने दैनिक कलंकीबाट सातदोबाटोको रिहाबसम्मको यात्रा तय गर्थिन् ।
टाईगर कप ठीकै भयो । अहिलेसम्म त्यति राम्रोसँग ट्रेनिङ पनि गरिसकेको छैन तर ट्रेनिङ गरे भने फेरी राम्रोसँग खेल्न सक्छु भन्ने भइरहेको छ ।’ उनी भन्छिन् ।
प्रतिभा पुरै निको भने भईसकेकी छैनन् । उनलाई अलि बढी समय कोर्टमा बिताउँदा दुख्न थाल्छ । तर उनले हार मानेकी छैनन् । चोट चाँडै पूर्ण रुपमा निको हुने उनको विश्वास छ ।
‘डर भन्ने छैन तर अलि बढी खेले बढी नै दुख्न थाल्छ । दुखे पनि दुखाई म्यानेज गर्दै खेल्नुपर्नेछ । घुँडाले मलाई स्वतन्त्र रुपमा खेल भनेर दिएको छैन । अझै दुखाई म्यानेज गर्न मलाई आउँदो वर्ष पनि लाग्छ होला ।’ उनले भनिन् ।
‘मेहेनत गर्छु, ट्रेनिङ गर्छु भन्दा चिकित्सकले पुरा बल लगाएर खेल्ने बेला भएको छैन भन्नु हुन्छ । त्यही भएर अड्किरहेको छु ।’ उनले भनिन्, ‘खुट्टा कमजोर छ, त्यसैले ठीक नहुन्जेल थेरापी गर्ने योजना छ । ’
सानै उमेरमा प्रतिभाले भलिबलबाट पर्याप्त चर्चा र सफलता बटुलिन् । उनले महिला भलिबललाई धेरै माथि लैजाने धेरैको अपेक्षा थियो । तर अहिले चोट बाधक बनेको छ । माली राष्ट्रिय महिला भलिबल टिमकी मुख्य स्पाइकर हुन्, अनि अघोषित मेन्टर जस्तै ।
उनको उत्कृष्ट प्रर्दशनमा नेपालले गत वर्ष १३ औं सागमा कीर्तिमानी रजत पदक हासिल गरेको थियो । साथै बंगलादेशमा सम्पन्न प्रथम एभिसी महिला सेन्ट्रल जोनमा ऐतिहासिक स्वर्णपदक जितेको थियो । उनी कीर्तिमानी स्वर्णपदक जित्दाकी नेपाली टोलीकी मुख्य पात्र हुन् । तर एनभीए कपको फाइनलमा उनले चोट बोकिन् । जसका कारण उनी एक वर्ष मैदान बाहिर रहिन् ।
चोट र उपचार
गत वर्ष माघमा भएको पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको फाइनलमा एपीएफ क्लबविरुद्द खेल्ने क्रममा माली घाइते भएकी थिईन् ।
त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा भएको फाइनल खेलमा एपीएफविरुद्द स्पाइक हानेर ‘ल्यान्डिङ’ हुने क्रममा उनको बायाँ घुँडामा चोट लागेको थियो ।
चोटपछि उनलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटल पुर्याईयो । जसको दौरान माघको २० गते उनको घुँडाको शल्यक्रिया भयो । भने करिब १७ दिनको हस्पिटल बसाई पश्चात डिस्चार्ज भईन् ।
अर्थोपेडिक सर्जन डा। प्रज्वलमान श्रेष्ठ र घुँडाका र्सजन डा। रुपेश बैद्यले शल्यक्रिया पश्चात करिब १ वर्ष प्रतिभा आराममा रहने बताएका थिए ।
यस्तै जेठ २३ गते ब्लुक्रसममा नै अर्को शल्यक्रिया गराईन् । साथै ग्वार्कोस्थित अर्थोप्लास्ष्ट गएर फिजियो पनि गराईन् ।
गत महिनामात्र पोखरामा आयोजित मैत्रीपूर्ण खेलबाट प्रतिभाले कोर्टमा ‘कमब्याक’ गरिन् ।
अरुणा शाही जिताउ अभियानका लागि भएको मैत्रीपूर्ण खेलबाट उनले कोर्टमा कमब्याक गरेकी हुन् । सो खेलमा होङ्ग्वान्जी न्यु डाइमण्डले एपीएफसँग खेलेको थियो । जसमा प्रतिभाले सबै सेट खेलिन् ।
लगत्तै पोखरामानै भएको टाइगर कप पुरुष तथा महिला भलिबल प्रतियोगितामा पनि उनीले न्यु डायमण्डबाट खेलिन् । प्राय सबै खेलमा उनको प्रर्दशन देखिन्थ्यो । प्रतिभा उत्कृष्ट सर्भर चुनिएकी थिइन् ।
‘मैत्रीपूर्ण खेलको सबै सेट खेलेको थिए तर पुरा बल लगाएर खेलेको थिइन । त्यो बेलामा मैले राम्रोसँग ट्रेनिङ पनि गरिसकेको थिएन, जित्नैपर्छ भन्ने दबाबमा खेलेको थिएन ।




