पाल्पास्थित एक घरमा गएराती तीजको रमाइलो गरिरहेका बेला झडप हुँदा एक जना युवाको मृत्यु भएको छ। तिनाउ गाउँपालिका(२ दोभान घोंडेबासमा गएराती महिला नाचिरहेका बेला युवाहरुबीच झगडा हुँदा स्थानीय २४ वर्षीय सुनिल खत्रीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार, महिला नाचिरहेका बेला युवाहरुबीच झगडा भएको थियो। तर नाचगान सकिए पछि त्यही विषयलाई लिएर पुनः झगडा हुँदा खत्रीमाथि राति साढे १२ बजे चक्कु प्रहार भएको थियो। चक्कु प्रहारबाट गम्भीर घाइते खत्रीलाई उपचारका लागि तत्काल लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा राति पौने दुई बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीले उक्त हत्या सम्बन्धमा आबश्यक अनुसन्धान गर्न भन्दै चार जना युवालाई नियन्त्रणमा लिएको बताइएको छ। तर, प्रहरीले थप विवरण खुलाएको छैन ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मासहितको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




