ठूलो आवाज गरेर पोखरा बजार थर्काउदै हुँइकिने २२ वटा मोटरसाइकल प्रहरीको कारबाहीमा परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले आइतबार बिहानै संचालन गरेको स्वरुप परिवर्तन गरिएका मोटरसाइकलबिरुद्धको कारबाहीका क्रममा ठूलो आवाज गरेर पोखरा बजार थर्काउदै हुँइकिने २२ वटा मोटरसाइकल कारबाहीमा परेका हुन्।

स्वरुप परिवर्तन गरिएका मोटरसाइकलका कारण ध्वनि प्रदुषण अति हुने र दुर्घटनाको सम्भावना तीब्रतर रुपमा बढ्दै गए पछि त्यस्ता मोटरसाइकलबिरुद्ध जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले संयुक्त रुपमा नै कारबाही अभियान संचालन शुरु गरेको कास्की प्रहरीका प्रबक्ता डिएसपी श्रवण कुमार बिकले जानकारी दिए। उनले शुरुमा यस अभियानका क्रममा समातिएका मोटरसाइकलहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा नै ल्याइने र त्यहीं मिस्त्री बोलाएर स्वरुप परिवर्तन गरिएका पार्टपुर्जा हटाई वास्तविक पार्टपुर्जा हाल्न लगाइने र त्यसपछि सामान्य कारबाही गरेर अभिभावकको जिम्मा लगाइने बताए। यदि त्यस्तो गल्ती फेरी दोहोरिएमा सवारी ऐन २०४९ अनुरुप कारबाहीका लागि यातायात ब्यबस्था कार्यालय पोखरा पठाइने जानकारी दिए।
प्रहरीले स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालकलाई मात्र हैन, मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने र गर्न सघाउने मोटरसाइकल वर्कशपहरुलाई पनि कारबाही चलाउबे योजना बनाएको डिएसपी बिकले सुनाए। उनले शुरुमा मोटरसाइकल वर्कशपहरुलाई पनि मोटरसाइकलको स्वरुप परिवर्तन नगर्न सम्झाइबुझाइ गरिने र त्यस्ता गतिविधिहरु दोहोर्याएको पाइएमा सवारी ऐन अन्तरगत कारबाही अघि बढाइने प्रतिबद्धता जनाए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रबक्ता ट्राफिक प्रहरी बरिष्ठ नायब निरिक्षक शिव पाठकले बिशेष गरेर बढी मूल्य पर्ने क्रस फायर, रोयल इंग्ल्याण्ड, जस्ता मोटरसाइकलहरुको स्वरुप परिवर्तन गर्ने गरेको पाइएको बताए। उनले मोटरसाइकलको साइलेन्सर पाइप परिवर्तन गरी चर्को आवाज आउने बनाउने, सिट परिवर्तन गर्ने र चापी निर्धारित ठाउँबाट हटाएर अन्यत्रै राख्ने गरेको पाइएव्को जानकारी दिए। मोटरसाइकलहरुको स्वरुप परिवर्तनबिरुद्धको अभियानलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्दै बरिष्ठ सई पाठकले आफ्ना छोराछोरीले मोटरसाइकल दुरुपयोग गरिरहेका छन् कि छैनन् भन्ने बारेमा बिशः चासो लिन अभिभावकहरुसंग आव्हान पनि गरे।




