पोखरा ल्याइदै गरेको करीब ११ किलो गाँजासहित पोखराबाट एक जना युवा पक्राउ परेका छन्। धादिङबाट बसमा पोखरातर्फ आउँदै गरेका धादिङ गजुरी नगरपालिका–३ क्वालसिङका २२ वर्षीय रवीन्द्र थिङलाई प्रहरीले करीब ११ किलो गाँजासहित पक्राउ गरेको हो।
वडा प्रहरी कार्यालय गगनगौंडा र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको ‘के नाइन’ शाखाबाट कुकुरसहितको टोलीले पोखरा–३२ मजुवामा सवारी साधन चेक गर्ने क्रममा थिङलाई उनले बोकेको झोलामा राखिएको १० किलो ८८९ ग्राम गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीसले जानकारी दिएको छ। अभियुक्त थिङको साथबाट गाँजाका साथमा एक थान मोबाइल र सात हजार ९० रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ।
उनलाई पक्राउ गरी जिल्ला अदालत कास्कीबाट लागुऔषधसम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले बताए ।




