मणिपाल शिक्षण अस्पताल तोडफोड गर्ने तथा चिकित्सक कुटपिट गर्ने दुई जनालाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि कारागार चलान गरेको छ।
लमजुङ सुन्दरबजार नगरपालिका (६ निवासी ५७ वर्षीया सुक मायाँ दुराको मृत्युको विषयलाई लिएर अस्पताल तोडफोड गर्ने तथा चिकित्सक कुट्ने दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो।
कारागार चलान हुनेमा पोखरा महानगरपालिका (१७ हनुमान टोल बस्ने छावा भनिने शुशिल कार्की र पोखरा (५ मालेपाटन बस्ने विनय गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक श्रवण कुमार विकले जानकारी दिए।
यस्तै, उक्त घटनामा अदालतले ७ जनालाई एक लाख धरौटी माग गरी तारेखमा रिहा गरेको छ। यसरी रिहा हुनेहरूमा पोखरा (४ का सुजित मुल्मी, पोखरा (५ मालेपाटनका अभिनास गुरुङ, पोखरा (५ का अरूण गुरुङ, पोखरा (९ का नितेश गुरुङ, पोखरा (९ नागढुंगाका विवेक गुरुङ, पोखरा (२० भलामका मनिष थापा र पोखरा (११ फूलबारीका प्रदिप गुरुङ छन्।
गत असोज ७ गते सुक मायाँ दुरा श्वाश प्रश्वास तथा ढाड दुख्ने समस्याका कारण पोखरा – ११ फुलबारी स्थित मणिपाल शिक्षण भर्ना भएकोमा उपचारका क्रममा भोलिपल्ट उनको मृत्यु भएको थियो। दुराको मृत्यु पश्चात आफन्तहरूले चिकित्सकको लापरबाही भन्दै उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गर्नुका साथै अस्पताल तोडफोड गरेका थिए।
कुटपिट तथा अस्पताल तोडफोडमा संग्लग्न ९ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरी स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोड जस्ता कार्य गर्न नहुने कसुरमा अनुसन्धान प्रकृया अगाडी बढाई सरकारी वकिल मार्फत जिल्ला अदालत कास्कीमा पेश गरेको थियो।
साथै उक्त घटनाका पहिचान खुलेका १० जना र पहिचान नखुलेका केही व्यक्ति फरार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।




