सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइलट क्याप्टेन प्रकाश सेढाईंको निधन भएको छ। उनको भारतको नेसनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा निधन भएको वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कडेलले जानकारी दिए।
हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन गत असोज २७ गते शनिबार बिहान ७ बजेर १३ मिनेटमा उडेको हेलिकोप्टर सोलुखुम्बुमा दुर्घटना भएको थियो। दुर्घटनामा परी उनको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको थियो ।
दुर्घटनामा परी पाइलट सेढाईं घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि काठमाडौंको ह्याप्स हस्पताल लगिएको थियो। तर त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि मुम्बई लगिएको थियो।
मनाङ एयरले विज्ञप्ति निकाली चिकित्सकहरूको अथक प्रयत्नका बाबजुद उपचारका क्रममा पाइलट सेढाईंको निधन भएको जनाएको छ। सेढाईं कुशल र अनुभवी पाइलटका रूपमा चिनिन्छन्। मनाङ एयरका अनुसार सेढाईंको शव आजै काठमाडौं ल्याउने तयारी भइरहेको छ।




