मदिरा चोरी गरेको भन्दै सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा पसलेले लाठी प्रहार गरेर घाइते बनाएका एक युवाको मृत्यु भएको छ।
मदिरा चोरी गरेको भन्दै धनगढी उपमहानगरपालिका– १६ बेहडाबाबाका ३८ वर्षीय लालबहादुर थापाको हत्या गरिएको प्रहरीले जनाएको छ ।
बेहडाबाबामा संचालित आफ्नो पसलबाट मदिरा चोरी गरेको भन्दै स्थानीय व्यापारी कृष्ण सेट्टीले लालबहादुर थापालाई दुई पटक बाँसको भाटाले प्रहार गरेको प्रहरी समक्ष कृष्ण सेट्टीले बयान दिएका छन्। बाँसको भाटा प्रहारबाट थापा बेहोश भएको बताइएको छ।
यता बाँसको भाटाको चोट साहना नसकेर बेहोश भएका थापालाई औषधी उपचार गर्न लैजानुको सट्टा घर लगेर छाडेको भन्दै थापाको आफन्तले प्रहरीको बिरोध गरेका छन्। औषधि उपचार नगरी घरमा लगिएका थापाको उनको घरमा नै मृत्यु भएको आफन्तहरुले जानकारी दिएका छन्। उनको हत्या हुँदा पनि प्रहरीले बेवास्ता गरेको परिवारको आरोप छ।
प्रहरीले अहिले आएर थापाको हत्या आरोपमा पसले सेट्टीलाई पक्राउ गरेको छ भने मृतक थापाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




