कास्की जिल्लाको पर्यटकीय गाउँ सिक्लेसमा कार्यरत मजदुर रामलाल तामाङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी कान्छी श्रीमतीसहित चार जनालाई पक्राउ गरेको छ।
कास्कीको मादी गाउँपालिका–१ सिक्लेसबाट दक्षिण पाखोमा चैत ३ गते मृत अवस्थामा भेटिएका सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ गुम्बाका तामाङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनकी कान्छी श्रीमतीसहित चार जना पक्राउ परेका हुन्।
प्रहरीले तामाङको हत्या आरोपमा उनकी श्रीमती कान्छी भनिने च्याङ्मा तामाङ, धनबहादुर लामा, नवीन तामाङ र अजित तामाङलाई पक्राउ गरेको समाचारस्रोतहरुले जानकारी दिएका छन्।
डोजर, स्काभेटर चालकको काम गर्दै आएका तामाङको हत्या गरेर भागेका उनीहरुलाई काठमाडौं र भक्तपुरबाट पक्राउ गरेर पोखरा ल्याइएको प्राप्त समाचारमा उल्लेख छ ।
तामाङ र उनकी श्रीमती कान्छी भनिने च्याङ्मा तामाङबीच केही वर्षदेखि सम्बन्ध बिग्रिएकाले अलग्गै बस्दै आएको अवस्थामा श्रीमातीको योजनामा उनको प्रेमीको समेत संलग्नतामा तामाङको हत्या भएको देखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता श्रवणकुमार बिकले जानकारी दिए। उनको प्रेमी समेतलाई प्रहरीले पक्राउ गरिसकेको बताइएको छ।
रामलालका शव पोस्टमार्टमपछि बुबाले शव बुझेका छन् । प्रहरीले उक्त हत्या आरोप सम्बन्धमा गम्भीर अनुसन्धान शुरु गरिएको बताएको छ।




