कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पारिवारिक घुमघामका लागि पुगेको एक परिवारका सदस्यलाई जबरजस्ती नाच्न लगाउने तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ।
पारिवारिक घुमघामका लागि कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंं.१० घान्द्रुक स्थित अन्नपूर्ण गेष्ट हाउस एण्ड रेष्टुरेण्टमा बस्न पुगेका पोखरा महानगरपालिका वडा नम्बर ४ सिद्धार्थचोकको एक परिवारका सदस्यलाई त्यस रेस्टुरेन्टमा संचालित सांस्कृतिक कार्यक्रममा जबरजस्ती नाच्न लगाउने तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पाहुनालाई जबरजस्ती नाच्न लगाएर अभद्र ब्यबहार गरेको आरोपमा बाग्लुङको जैमिनी नगरपालिका ८ बस्ने वर्ष २८ को भीम थापा, सोही ठाउँका वर्ष ३१ को डोलनाथ पौडेल र वर्ष २९ को तेज हमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
सम्झाई बुझाइ गर्दा समेत होटल संचालक तथा कर्मचारीहरुलाई पनि उनीहरुले उल्टै बियरका बोत्तल तथा लाठ्ठी समेतले प्रहार गरी घाईते बनाएको प्रहरीको आरोप छ।
अभियुक्तहरुबिरुद्ध सार्वजनिक, हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसुर अन्तर्गत अभद्र व्यवहार सम्बन्धी मुद्दामा पांच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।




