विश्वकै सबैभन्दा पुरानो महादेशीय फुटबल प्रतियोगिता कोपा–अमेरिकाको ४८औँ संस्करण सकिएको छ । अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा सोमबार सम्पन्न फाइनलमा अर्जेन्टिनाले अतिरिक्त ससमयमा कोलम्बियालाई १–० गोलले हरायो ।
निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समय (११२)औँ मिनेट मा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले निर्णायक गोल गरेका थिए । उक्त जितसँगै अर्जेन्टिना सबैभन्दा बढी कोपा–अमेरिकाको उपाधि जित्ने राष्ट्र पनि बनेको छ ।
अर्जेन्टिनाले जितेको यो १६औँ कोपा–अमेरिका उपाधि हो । उरुग्वेले भने हालसम्म १५ पटक कोपा–अमेरिकाको उपाधि हात पारेको छ ।
सर्वोत्कृष्ट खेलाडी
कोलम्बियाका जेम्स रोड्रिगुएज सर्वोत्कृष्ट खेलाडी घोषित भए ।
‘गोल्डेन बुट’
अर्जेन्टिनाका लाउटारो मार्टिनेजले ‘गोल्डेन बुट’ अवार्ड जिते । उनले प्रतियोगिता अवधिभर सर्वाधिक पाँच गोल गरे । उनले समूहगत चरणमा क्यानडा, चिली र पेरुविरुद्ध एक–एक गोल गरेका थिए । उनले क्वार्टरफाइनलमा इक्वेडरविरुद्ध पनि गोल गरेका थिए ।
सेमिफाइनलमा गोल गर्न नसकेका मार्टिनेजले फाइनलमा भने कोलम्बियाविरुद्ध गोल गरेका थिए । सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा भेनेजुएलाका सालोमोन रोन्डन दोस्रो स्थानमा रहे । उनले कुल तीन गोल गरेका थिए ।
सर्वोत्कृष्ट गोलरक्षक
अर्जेन्टिनाका एमिलियानो मार्टिनेजले सर्वोत्कृष्ट गोलरक्षकको अवार्ड पाए ।
प्रतियोगितामा विभिन्न टोलीका १३ जना खेलाडीले दुई–दुई गोल गरे । यसका अतिरिक्त विभिन्न टोलीका ३५ खेलाडीले एक–एक गोल गरे । प्रतियोगितामा एउटा मात्र आत्मघाती गोल भयो । त्यो गोल इक्वेडरविरुद्धको खेलमा जमैकाका कासी पाल्मरबाट भएको थियो ।
यसैगरी ४८औँ संस्करणमा ‘फेयर प्ले’ अवार्ड भने कोलम्बियन टोलीले पायो ।




