बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरको अश्लील फोटो सार्वजनिक गरिदिन्छु भनेर धम्क्याउने विनयजंग बस्नेत ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
उनलाई बुधबार काठमाडौं जिल्ला अदालतले साइबर अपराधमा ४० हजार र अभद्र व्यवहार कसूरमा १० हजार गरी ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । बस्नेत बुधबार नै धरौटी बुझाएर रिहा भएका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतका अनुसार, केही युट्युब च्यानलमा अन्तरवार्ता दिँदै बस्नेतले ‘मेरो मोबाइलमा सपनाका नग्न तस्वीरहरु छन्, सार्वजनिक गरिदिऊँ’ भन्दै धम्की दिएका थिए । त्यसविरुद्ध सपनाले प्रहरीमा किटानी जाहेरी दिएपछि बस्नेत ४ फागुनमा बसपार्कबाट पक्राउ परेका थिए ।
सुरुमा अभद्र व्यवहार सम्बन्धी कसुरमा जाहेरी दिइए पनि सपनाका केही तस्वीरहरु भेटिएपछि प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अनुसार मुद्दा प्रक्रिया अघि बढाएको थियो ।
बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीको रुपमा चिनाउँदै आएका थिए र काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्थे । सपना बीबीसीको प्रभावशाली महिलाको सूचीमा परेसँगै उनीहरुको सम्बन्धमा दरार आएको थियो ।




