पोखरा महानगरपालिका–१७ स्थित सेती नदीको खोचमा हाम फाली बेपत्ता भएका एक युवकको शव सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीले उद्धार गरेको छ।
भारतको सितामढी स्थायी घर भई हाल पोखरा–१७ घारिपाटन बस्दै आएका ३४ वर्षीय मुकेश महतो जेठ १० गते राति करिब पौने १० बजे सेती नदीको खोचमा हाम फाली बेपत्ता भएका थिए। घटनाको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण बहादुर खड्काको कमाण्डमा १० जनाको टोली घटनास्थलमा खटिएको थियो।
रातिको समयमा खोजी गर्दा महतो फेला नपरेपछि टोली फर्किएको थियो। त्यसपछि आज बिहान पुनः सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको कमाण्डमा ११ जनाको विशेष विपद् व्यवस्थापन टोली खोजतलासमा परिचालन गरिएको थियो।
टोलीले बिहान ९ः४५ बजे करिब २५० फिट गहिरो खोचबाट रोप रेस्क्यु विधिको प्रयोग गरी महतोको शव बाहिर निकालेको सशस्त्र प्रहरीले जनाएको छ।
उद्धारपछि शव नेपाल प्रहरीलाई बुझाइएको छ। आवश्यक मुचुल्का प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।




