काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा मंगलबार बिहान कारमा आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ।
बा ५ च ३०३८ नम्बरको कारमा एक्कासी आगो लागेको थियो। स्थानीयवासीले आगो देखेपछि उद्धारको प्रयास गरे पनि प्रहरी घटनास्थल पुग्दा चालक सिटमा सिट बेल्ट लगाएकै अवस्थामा एक पुरुष जलेर मृत फेला परेका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृतक कारधनी तथा चालक सुरेश चन्द श्रेष्ठ हुन्। उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा कारमा आगलागी हुँदा पनि चालक बाहिर ननिस्किएको अवस्थालाई आधार मानेर घटना आत्महत्यासँग सम्बन्धित हुन सक्ने कोणबाट समेत अनुसन्धान गरिरहेको जनाएको छ। यद्यपि घटनाको वास्तविक कारण भने पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।




