पाकिस्तानको इस्लामाबादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिप २०२६ मा नेपालले कडा प्रतिस्पर्धा गरे पनि पहिलो खेलमा काजाखस्तानसँग ३–२ सेटले पराजय बेहोरेको छ।
खेलको सुरुआती दुई सेट काजाखस्तानले आफ्नो पक्षमा पार्दै २–० को अग्रता बनाएको थियो। तर नेपालले हार नमानी तेस्रो सेटमा ३४–३२ को कठिन जित निकाल्दै खेलमा फर्कियो। त्यसपछि चौथो सेट पनि २५–१९ ले जित्दै नेपालले खेललाई निर्णायक पाँचौं सेटमा पुर्याएको थियो।
प्रतिस्पर्धामा काजाखस्तानले नेपाललाई २५–१९, २५–२१, ३२–३४, १९–२५ र १५–९ को सेट स्कोरमा हरायो।
निर्णायक पाँचौं सेटमा भने काजाखस्तानले अनुभवको फाइदा उठाउँदै १५–९ को जित निकाल्यो र खेल ३–२ ले आफ्नो पक्षमा पार्न सफल भयो।
पराजय भए पनि नेपालले बलियो टोली काजाखस्तानविरुद्ध देखाएको संघर्षपूर्ण प्रदर्शनले समर्थकहरूको प्रशंसा बटुलेको छ। विशेषगरी लगातार दुई सेट गुमाएपछि उत्कृष्ट पुनरागमन गर्दै खेललाई पाँचौं सेटसम्म पुर्याउनु नेपाली टोलीको आत्मविश्वास र क्षमता झल्काउने प्रदर्शन मानिएको छ।
पाकिस्तानमा जारी प्रतियोगिता जुलाई २२ देखि २९ सम्म सञ्चालन हुँदैछ, जसमा नेपालसहित पाकिस्तान, काजाखस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान सहभागी छन् ।




