साबिक विजेता रियल म्याड्रिडले इल्चेमाथि संघर्षपूर्ण जीत निकाल्दै स्पेनिस ला लिगाको दौडमा आफूलाई कायम राखेको छ । शनिबार भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै रियलले २–१ को जीत हासिल गर्न सफल भएको हो ।
रियललाई जीत दिलाउन फेरि एकपटक करिम बेन्जेमा नायक बने । खेलको ७३ औँ मिनेटमा लुका मोड्रिचको पासमा गोल गर्दै बेन्जेमाले खेल बराबरी गरेका थिए । त्यसपछि इन्जुरी समयमा कासिमेरोसँग वान–टु गर्दै विजयी गोल गरे ।
यसअघि खेलको ६१ औँ मिनेटमा ड्यानी काल्भोले इल्चेलाई अग्रता दिलाएका थिए । जीतसँगै रियल २७ खेलबाट ५७ अंक बटुल्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । रियल शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा ६ अंकले पछि रहेको छ । शनिबार एथ्लेटिको गेटाफेसँग गोलरहित बराबरीमा रोकियो । एक खेल कम खेलेको बार्सिलोना ५६ अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ ।




