विराटनगर र बार्सिलोनाले आफ्ना स्ट्राइकर एन्टोइन ग्रिजम्यानसँग फरवार्ड पाउलो डेबाला साट्न युभेन्टसलाई प्रस्ताव गरेको छ । इटालियन मिडिया ‘क्याल्सिमेर्काटो’का अनुसार बार्सिलोनाले ग्रिजम्यान र डेबालालाई सट्टापट्टा गर्न युभेन्टसलाई प्रस्ताव गरेको हो ।
फ्रेन्च स्टार ग्रिजम्यान जुलाई २०१९ मा एथ्लेटिको मड्रिडबाट क्याप नोउमा अुबन्धित भएका हुन् । उनले बार्सिलोनाको जर्सीमा ८७ खेलबाट २८ गोल गरेका छन् । टोलीमा राम्रै प्रदर्शन गरे पनि डेबाला भित्र्याउनका लागि उनलाई बार्सिलोनाले प्रयोग गर्न खोजेको खबरमा जनाइएको छ ।
अर्जेन्टिनी स्टार डेबालाले युभेन्टस छोड्ने मनसाय बनाएको मौका छोपेर बार्सिलोनाले उनलाई क्लबमा अनुबन्ध गर्न खोजेको बताइएको छ । पछिल्लो समय टोलीमा मौका पाउन सङ्घर्षरत डेबाला इटालियन च्याम्पियन छोड्ने मनसायमा रहेको पनि खबरमा जनाइएको छ ।
डेबालाले यो सिजन १६ खेल मात्र खेल्न पाएका छन्, जसमा उनले तीन गोल गरेका छन् । हाल उनी चोटबाट मुक्त हुन सङ्घर्षरत छन् ।




