घरेलु मैदानमा इजिप्टको फराकिलो जितमा सलाहले दुई गोल गर्दा मोहम्मद इलाने र मोहम्मद सेरिफले समान १–१ गोल गरे । इजिप्टले सुरुवाती २५ मिनेट भित्रै र १० मिनेटको दौरानमा चार गोल गरेको थियो ।
कायरो इन्टरनेसनल स्टेडियममा सोमबार राति भएको खेलमा घरेलु टोलीले खेलको १५औं मिनेटमा मोहम्मद इलानेको गोलबाट अग्रता लिएको थियो । १७औं मिनेटमा मोहम्मद सेरिफले गोल गर्दै इजिप्टको अग्रता दोब्बर पारे ।
त्यसपछिको दुई गोल सलाहको नाममा रह्यो । सलाहले २१औं र २५औ मिनेटमा गोल गर्दै इजिप्टलाई ४–० ले अघि बढाए । दोस्रो हाफमा पनि इजिप्टले पाहुना टोलीलाई दवावमा राखेपनि थप गोल निस्कन नसक्दा पहिलो हाफको चार गोल नै इजिप्टको जितमा पर्याप्त बन्यो ।
यो जितसँगै इजिप्ट समूह ‘जी’ मा ६ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ । अपराजित इजिप्टले ३ जित र ३ बराबरी खेलेको छ । पराजित कोमोरोस ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । केन्याको ७ तथा टोगोको २ अंक छ ।
यही समूहको अर्को खेलमा केन्याले टोगोलाई २–१ ले पराजित गरेको छ । केन्याको जितमा हसन अब्दल्लाह र मासुद जुमा चोकाले गोल गरे । घरेलु टोली टोगोका हेनरी इनफुलले एक गोल फर्काए ।




