गण्डकी प्रदेशमा खेलकुदको विकास एवं प्रवर्द्धन गर्न सघाउने उद्देश्यले युकेमा एक मञ्च गठन गरिएको छ । आइतबार भर्चुअल जुम मार्फत आयोजित समारोहमा बेलायतस्थित समाजसेवी मीनप्रसाद गुरुङको संयोजकत्वमा ‘गण्डकी प्रदेश खेलकुद समन्वय मञ्च यूके’ घोषणा गरिएको हो । उक्त मञ्चले प्रदेशमा खेलकुदको विकासमा सघाउने छ ।
अध्यक्ष गुरुङ पूर्व राष्ट्रिय खेलाडी तथा तमुधिं यूकेका संस्थापक पनि हुन् । मञ्चमा विभिन्न संघसंस्थाको प्रतिनिधित्व रहनेछ । कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्तले विदेशमा जन्मिएका नयाँ पुस्तालाई मातृभूमितर्फ आकर्षित गर्न एनआरएनएले नेपालको खेल विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले गण्डकी प्रदेशले खेलकुदको विकासमा उदाहरण प्रस्तुत गर्ने आशा पनि व्यक्त गरे।




