स्पेनिस क्बल रियल मड्रिड र बार्सिलोनाले मैदानमा आशातित् प्रदर्शन गर्न सकिरहेका छैनन्। त्यसैले यी टोली लामो समययता लिग तालिकाका शीर्षस्थानमा पुग्न सकेका छैनन्।
मैदानमा उपस्थिति कमाजोर देखिएसँगै उनीहरुको प्रतिस्पर्धा अर्कैतर्फ अघि बढिसकेको छ। अर्थात् टिम बिल्डिङमा।
अहिलेको जस्तो तीव्र, फोर्सफूल र प्राविधिक फुटबलमा लगातार सानदार प्रदर्शन गर्नसक्ने खेलाडी औंलामा गन्न सकिने छन्।
टिममा सुहाउँदो, जितको भोक भएको, प्रतिस्पर्धी भावनाले सजिएको खेलाडी खोज्न पछिल्लो १० वर्षमा दबदबा बनाएका क्लब रियल र बार्सिलोना जोडतोडका साथ लागिपरेका छन्। त्यसैले अहिले फुटबल वृत्तको केन्द्रमा छन् केलियन एम्बाप्पे र इर्लिङ ब्रुट हाल्यान्ड।
रियलले क्रिस्टियानो रोनाल्डो गुमाएपछि र बार्सिलोनाले नेयमार र लुइस सुआरेज गुमाएपछि दुवै टिमका लागि गोलमेसिन चाहिएको छ। यही सेरोफेरोमा गत बिहीबार बिहान हाल्यान्ड पिता अल्फ इंग हाल्यान्ड र उनका एजेन्ट मिनो रायोला बार्सिलोना पुगेका थिए।
बार्सिलोनामा क्लबका अध्यक्ष जोआन लापोर्ताले उनीहरुलाई हाल्यान्डका लागि जति पनि खर्च गर्नसक्ने आश्वासन दिएका छन्। उनको आश्वासनलाई आधार मान्ने हो भने नर्वेजियन खेलाडी अहिले क्यटलान क्लबको प्रमुख लक्ष्य हुन्।
लापोर्ताले आफ्नो स्पष्ट धारण हाल्यान्डलाई साइन गर्ने रहेको बताए पनि उनलाई धेरै क्लबले भित्र्याउन चाहेकोबारे सजग छन्।
बार्सिलोनासँग कुरा भएपछि एजेन्ट रायोला र सिनियर हाल्यान्डले बिहीबार नै अर्को क्लब रियल मड्रिडसँग पनि कुरा गर्न भ्याएका थिए। यसरी हेर्दा रोयललाई अहिले हाल्यान्डलाई लिलामीमा राखेजस्तो देखिन्छ।




