रहरले मानिसलाई कहाँ(कहाँसम्म डोहोर्याउँदैन रु पहिलो पटक क्यामेरा तब किने, जब उनको उमेरले चार दशक काटिसकेको थियो । पेशा(व्यवसायबाट अवकाश लिएर आरामतर्फ मोडिने बेला उनी जीवनको अर्को रचनात्मक अध्यायमा जोडिए । बाल्यकालदेखिको रहरले अन्ततः ५० वसन्त कटेपछि मात्रै स्पष्ट आकार लियो ।
अचेल नारायण न्यौपाने ९५६० त्यही रहर पछ्याउँदै कहिले कीर्तिपुरको डाँडा पुग्छन् त कहिले बोसनडाँडा । घन्टौंसम्म टौदहको किनारमा बसेर क्यामेराको ‘आँखा’ बाट चरालाई हेर्छन् । साथीभाइसँग यात्रामा निस्कनु पनि उही रहरसँगै जोडिएको अर्को रहर हो उनका लागि । तर कहिलेकाहीं उमेर, स्वास्थ्य र मौसमको ठेस लाग्छ । ‘अब उमेर पनि पाको हुँदै गयो । स्वास्थ्यले पनि कहिलेकाहीँ साथ दिँदैन । घुम्न भनेर निस्किन्छु तर बाटोबाटै फर्किनुपर्छ,’ उनको भनाइमा मात्रै होइन अनुहारमा पनि निराश भाव झल्कियो ।
खासमा नारायण व्यापारी हुन् । सारीको व्यापार गर्छन् उनी । पसल छ इन्द्रचोक, असनमा । डिजाइनर पनि हुन् । ग्राहकले चाहे अनुसारको सारी डिजाइन गरिदिन्छ्न् । तर अहिले यो पाटोसँग उनी त्यत्ति नजिक छैनन् । ‘श्रीमती र छोरीले सम्हालेका छन् व्यापार,’ उनले भने ।
नारायणको उठबस अहिले उनको रहरसँग बढी छ । रहर अर्थात् फोटोग्राफी ।
चराचुरुंगीको तस्बिर खिच्न फोटोग्राफरले उनीहरुसँग संवाद गर्न सिक्नुपर्छ भनिन्छ । नारायणले पनि यो महसुस गरेका छन् । भन्छन्, ‘कुन चरालाई कस्तो वातावरण मन पर्छ भन्ने कुरा धेरै महत्त्वपूर्ण छ । हामी बर्ड वाचिङमा जाँदा पनि चुपचाप गएर कुन चरा हो थाहा पाएर त्यसकै प्रकृतिअनुसार व्यवहार गर्नुपर्ने हुन्छ ।’




