काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आगामी जेठ असारमा कोरोनाभाइरस ९कोभिड १९० को संक्रमण फेरि उच्च विन्दुमा पुग्नसक्ने बताएका छन । तर अहिले नेपालको अवस्था आतंकित हुनुपर्ने नभएको पनि उनले बताए
आइतबार संसद बैठकलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री त्रिपाठीले पछिल्ला दिनहरुमा फेरि संक्रमण बढ्न थालेको बताए । अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा अर्को उच्च विन्दुमा पुग्नसक्छ उनले भने ।
यसअघि कात्तिक महिनामा संक्रमण उच्च थियो । कात्तिक ५ गते एकैदिन ५७४३ नयाँ संक्रमित भेटिएका थिए भने १० गते पोजेटिभिटी रेसियो ९परीक्षणका आधारमा संक्रमितको अनुपात० ३५ प्रतिशत थियो ।
माघ पहिलो साता न्यून बिन्दुमा पुगेको संक्रमण फेरि बढ्न थालेको छ । सोमबार देशभरमा २६६ नयाँ संक्रमित भेटिएका छन् । भारतमा बढ्दो संक्रमणले नेपाललाई थप सचेत बनाएको समेत मन्त्री त्रिपाठीले बताए ।
पुनः लकडाउनमा जान नपरोस् भनेर अपनाउनुपर्ने सबै प्रभावकारी कदम अपनाउन सरकार तयार रहेको भन्दै अहिलेको नेपालको अवस्था आतंकित हुनुपर्ने बताए ।
उनका अनुसार झण्डै १८ लाख नागरिकलाई खोप दिइसकेको र असारसम्म ६० लाख जनतालाई दिने सरकारको लक्ष्य रहेको बताए । खोप ल्याउन रकम अभाव नहुने भन्दै उनले भने, खोपका लागि ४८ अर्ब बजेट सुरक्षित छ । त्यति पनि खर्च नहोला ।
मन्त्री त्रिपाठीले कोरोनामा भएको खर्चको श्वेत पत्र जारी गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।




