गण्डकी प्रदेश सरकारमा नेतृत्व गरिरहेको नेकपा एमालेका सांसदहरुले आज चालु गण्डकी प्रदेश सभामा प्रदेश सभा सदस्य र सभामा कार्यरत कर्मचारीको पिसिआर परीक्षण नभएसम्म प्रदेश्सभा बैठक चलन नसक्ने अडान राखेर बैठक अवरुद्ध गरेका थिए।
प्रदेश सरकारविरुद्ध दर्ता भएको अविस्वास प्रस्ताबमा दोश्रो दिन आज पनि मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव माथी छलफल चल्ने कार्यक्रम रहेको थियो। तर कोभिड १९ को संक्रमण भयावह हुँदै गएको भन्दै एमालेले बैठकको सुरुमै उभिएर बैठकमा अवरोध गरेको हो ।
त्यस पछि प्रदेश सभा सदस्य राजिब पहारीले ‘पोखरामा पनि कोभिड संक्रमणको अवस्था जटिल बनेको तथा भयावह हुँदै गएको ” उल्लेख गर्दै “कतिपय प्रदेश सभा सदस्यहरु पनि स्वास प्रश्वास , प्रेसर, सुगर, थाईराईड, लगायत दिर्घ रोगी भएकाले सरकारको आदेश बिरुद्ध प्रदेश सभा अघि बढ्न नसक्ने” जिकिर गरेका थिए।
उनले सबै सांसदको पिसीआर टेष्ट गर्न माग गरे। त्यति मात्र हैन उनले आधा भन्दा बढी सांसदले कोरोना बिरुद्धको भ्याक्सिन नलगाएको जानकारी दिंदै उनले अघि भने, ‘सामान्य विधि पनि पालना नगरिकन बैठक चलाउँदा कोहि माननीय वा कर्मचारीको मृत्यु हुन पुगे त्यसको जिम्मेवारी कसले लिने रु’ सांसद पहारीले संसदभित्र २ सय भन्दा बढीको उपस्थितिमा बैठक बस्नु सरकारी मापदण्ड विपरित भएको बताए । पिसिआर नगरी बैठक नचलाउन उनले आग्रह गरे । एमालेको अवरोधपछि संसद बैठक २० मिनेटका लागि स्थगीत भएको थियो ।
त्यसपछी प्रदेशसभा बैठक रोकेर बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेका तर्फबाट पिसिआर परीक्षण गर्नैपर्ने माग जोडदार रुपमा उठाइएपछि तत्काल सबै सांसदको पिसिआर परीक्षण गर्ने निर्णयका साथ प्रदेशसभा बैठक बुधबार बस्ने सहमति जुटेको छ ।
प्रदेशसभा सदस्य कृष्णबहादुर थापाका अनुसार मंगलबार सांसदहरुको पिसिआर परीक्षण गरिने छ । उक्त परीक्षणको रिपोर्ट आए पछिमात्र बस्ने गरी बुधबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठकको अर्को मिति तोकिएको उनले बताए ।
कुनै प्रदेशसभा सांसदमा कोरोना संक्रमण देखिएको अवस्थामा भने त्यस्तो सांसदलाई निजी सवारी साधनमा आएर प्रदेशसभामा अविश्वास प्रस्तावमाथिको मतदानमा भाग लिन दिइने तर बैठकमा सहभागी नगराइने पनि दलहरुबीच सहमति भएको छ ।
रात गए अग्राख पलाउछ भन्ने नेपालीमा उखान छ। वर्तमान गण्डकी प्रदेश सरकार केही दिन प्रदेश सभा बैठक लम्ब्याएर बिपक्षी दलका सांसदहरुलाई फ्लोर क्रस गराउन सकिन्छ कि भन्ने प्रयासमा लागेको बताइएको छ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमाले एक्लैको २७ सांसद छन्। अविस्वासको प्रस्ताब पारित हुन् ३१ सांसदले अविस्वासको प्रस्ताबमा समर्थन गर्नु आबस्यक छ। त्यस्तो अवस्थामा नेकपा एमालेलाई जम्मा तीन थप सांसद आबस्यक पर्छ। उसले संसद बैठक लम्ब्याउदै आफ्नो पक्षमा उभिने अविस्वासको प्रस्ताबमा हस्ताक्षर गरेका सांसदहरुलाई आफु तिर तान्ने कोशिश गरिरहेको छ। यसका लागि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ स्वयमले सांसद तथा सांसदका अति निकटका परिवारजनलाई फोन गरेर आफ्नो सरकार जोगाउन सहयोग गर्न र त्यसका लागि आफुले गर्न सक्ने सबै गर्ने बचन दिएका छन्।
सत्तापक्षबाट त्यस्तो हर्कत देखेपछि अविस्वासको प्रस्ताबमा हस्ताक्षर गरेका सांसदहरुले फ्लोर क्रस गर्न सक्ने सम्भावना देखेपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफु पक्षका सांसदहरुलाई पोखराको लेकसाइडस्थित कुटी रिसोर्टमा एकत्रित गरेर राखेको छ। जनता समाजवादी पार्टीका दुई सांसद भने आफ्नै पार्टीको नेताले संचालन गरिरहेको लेकसाइडको हल्लनचोकस्थित होटलमा बसिरहेका छन्।
गण्डकी प्रदेश सभामा निर्णायक मत रहेको भनिएको रास्ट्रिय जनमोर्चाले भने वर्तमान गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरेर बिपक्षी दलहरुले दर्ता गरेको अविस्वासको प्रस्तावलाई समर्थन गर्ने स्पस्ट पारेको छ। उसले सरकारमा पनि सहभागी नहुने र आगामी दिनहरुमा अब बन्ने नयाँ सरकारको गुण र दोष हेरेर सरकारलाई समर्थन गर्ने वा नगर्ने नीति लिने बताई रहेको छ।
गण्डकी प्रदेश सभामा एक मात्र स्वतन्त्र सांसद राजिब गुरुङ उर्फ दिपक मनाङ्गेले पनि आफु स्वतन्त्र रहेकाले सरकार गठनमा छुट्टै भूमिका खोजिरहेका छन्।
यस्तो अवस्थामा २७ सदस्य रहेको नेकपा एमालेले माओबादी केन्द्रमा रहेको भनिएका गृहमन्त्री रामबहादुर थापा पक्षीय सांसदको सहयोग लिने कोशिश गरिरहेको समाचारस्रोतको दाबी छ। त्यसको साथमा अन्य सांसदलाई पनि आफ्नो पक्षमा उभ्याउन मुख्यमन्त्री स्वयम् लागिरहेको समाचारस्रोतको दाबी छ।




