गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका अमिक शेरचनले आफूलाई थाहै नदिई पदमुक्त गरिएको बताएका छन् । हिजो सरकारको सिफारीसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख शेरचनलाई पदमुक्त गरेकी थिईन् ।
पदमुक्त भएपछि मंगलबार पोखरास्थित प्रदेश प्रमुख निवासमा पत्रकार भेटघाट गर्दै शेरचनले पहिला आफूले राजीनामा दिन खोजेको तर प्रचण्डले रोकेको पनि जानकारी दिए । आफू पदमुक्त भएको कुरा सञ्चार माध्यमबाट मात्र थाहा पाएको उनले बताए ।
प्रधानमन्त्री केपी ओलीले प्रदेश प्रमुखमा प्रस्ताव गर्दा आफूले अस्वीकार गरेको भन्दै उनले तत्कालिन नेकपाले निर्णय गरेपछि बाध्यताले प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेको बताए। प्रदेश प्रमुखबाट हटाएकोमा उनले सरकारलाई धन्यवाद दिदै अहिले खुल्ला जेलबाट मुक्त भए जस्तो भएको टिप्पणी पनि गरे । गण्डकी प्रदेशको दोस्रो प्रदेश प्रमुखका रुपमा शेरचनले १८ महिना काम गरेका छन्।




