म्याग्दी जिल्लाको मालिका गाउँ पालिका वडा नम्बर ५ देबिस्थानमा हत्या र बलात्कार गरि फरार भएकाहरुलाई ईलाका प्रहरी कार्यालय दरबाङ्का प्रहरी निरीक्षक सन्तोष पौडेलको नेतृत्वमा गएको टोलीले पोखराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।
घरबाट हराएको १२ दिनपछि ओडारमा शव फेला परेका म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानका धजेन्द्र पुनको हत्या भएको खुलेको छ । २०७८ वैशाख १४ गतेदेखि हराएका २७ वर्षीय धजेन्द्रको वैशाख २५ गते देबिस्थानको मार्चुला सामुदायिक बनको बराहथानस्थित ओडारमा ढुङ्गाले अठ्याएको अवस्थामा शव फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले पोखराबाट पक्राउ परेका धजेन्द्रको हत्या आरोपी पाँच र देविस्थानकै बलात्कार घटनामा संलग्न एकजनालाई मंगलबार बेनीमा सार्वजनिक गरेको छ । देविस्थान घर भई हाल पोखरा बस्ने २१ वर्षीय भेषबहादुर विक र रामबहादुर परियारले अन्य तीनजनाको सहयोगमा धाजेन्द्रको हत्या गरेको स्वीकार गरेको प्रहरी नायव उपरीक्षक श्यामकुमार राइले बताए ।
वैशाख १४ गते भेषबहादुरका दाजुको विवाहमा निम्तो मान्न गएका धजेन्द्रको हत्यामा संलग्न अन्य तीनजना १८ वर्षभन्दा कम उमेरको देखिएकाले नाव सार्वजनिक नगरिएको प्रनाउ राइले बताए । पाँचजनाले कुटपिट गर्ने क्रममा ज्यान गएपछि भेषबहादुरको घर नजिकैको जंगलको ओडारमा लगेर शव लुकाएका थिए ।
भेषबहादुर र धजेन्द्रको पुरानो रिसिइवी भएको बुझिएको छ । कुटपिट गर्ने क्रममा धजेन्द्रको मृत्यु भएपछि ओडारमा शव लुकाएर चार जना पोखरा गएका थिए । एक जना गाउँबाटै पक्राउ परेका हुन् । टाउको र कुम देखिएको अवस्थामा शव भेटिएपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।




