मुम्बईमा बस्ने आँखाका सर्जन डाक्टर अक्षय नायर शनिबार बिहान २५ वर्षकी महिलाको शल्यक्रिया गर्न प्रतीक्षा गरिरहेका थिए ।
जुन महिलाको शल्यक्रिया गर्नुपर्ने थियो उनी तीन हप्ता अघि कोभिड–१९ संक्रमणबाट निको भइसकेकी छिन् र उनी मधुमेहद्वारा पीडित छिन् ।
यो शल्यक्रियामा डाक्टर अक्षय नायरसँग नाक, कान, घाँटी ९इनटी० का विशेषज्ञ पनि संलग्न थिए ।
इएनटी डाक्टरले महिलाको नाकमा एउटा ट्युब राखे र म्यूकरमायकोसिस ९ब्ल्याक फंगस० द्वारा संक्रमित तन्तुलाई हटाउन थाले । यो खतरनाक संक्रमण नाक, आँखा र कहिलेकाँही दिमागमा पनि फैलिने गर्छ ।
इएनटी डाक्टरको काम पूरा भएपछि डाक्टर नायरलाई बिरामीको आँखा निकाल्नका लागि तीन घण्टाको शल्यक्रिया गर्नुपर्यो ।
डाक्टरले भने, ‘महिलाको ज्यान बचाउनका लागि मैले उनको आँखा निकाल्नुपरेको हो । संक्रमण फैलनबाट रोकनका लागि यही एउटा तरिका हो ।’
भारतमा जहाँ कोरोनाभाइरसको दोस्रो लहर घातक भइरहेको छ भने कोभिड–१९ बाट निको भइसकेका मानिसहरुमा अर्को एउटा संक्रमण देखिएको छ ।
डाक्टरका अनुसार यस्ता थुप्रै बिरामी देखिएका छन् जसलाई ‘कालो फंगस’ को संक्रमण भएको छ । यो संक्रमणलाई म्यूकरमायकोसिस भनिन्छ र यसले कोरोनाभाइरसबाट निको भइरहेका र निको भइसकेका बिरामीलाई आफ्नो चपेटामा पारिरहेको छ ।




