मोरङको सुन्दरहरैंचा नगरपालिका ३ लोचनीका २३ वर्षीय पुजन राईले सामान्य विषयमा विवाद हुँदा छिमेकी दाइको हत्या गरेको खुलेको छ ।
करिब चार महिनाअगाडि ‘साइको’ भनेको विषयलाई लिएर पुजनले ४० वर्षीय बिष्णु ऋषिदेवलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको मोरङ प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ । हत्या आरोपमा पक्राउ परेका राई र मृतक ऋषिदेव छिमेकी हुन् ।
पुजनले बिष्णुलाई दाइ भनेर सम्बोधन गर्ने गरेको स्थानीय बताउँछन् । उनीहरूको एक सय मिटरको दूरीमा घर रहेको छ । गत बिहीबार राति धारिलो हतियार दाउले ऋषिदेव सुतेको अवस्थामा घाँटीमा प्रहार गरी हत्या गरेको अवस्थामा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।




