पोखरा । सरकारले कोरोना संक्रमितको उपचारका लागि आवश्यक आइसियू, भेन्टिलेटर, एचडियू बेड र परीक्षण किट खरिदका लागि ४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।
आर्थिक वर्ष २०७८७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोरोना उपचारका लागि चाहिने पूर्वाधारका लागि आवश्यक बजेको प्रबन्ध गरिएको जनाएको छ।
यस्तै सामुदायिक तथा निजी अस्पतालले अक्सिजन प्लान्ट जडान गरेमा लागतको ५० प्रतिशत पुँजीगत अनुदान दिइने भनिएको छ।
साथै कोभिड(१९ महामारी अवधिभर उद्योगहरूलाई अक्सिजन उत्पादन गर्न लाग्ने बिजुली महसुलमा ५० प्रतिशत छुट दिइने पनि जनाइएको छ।
सरकारले कोभिडविरूद्धको औषधि आयात गर्दा लाग्ने भन्सार महशुलमा पनि छुट दिने जनाएको छ।
साथै कोरोना उपचार सेवामा जनशक्तिको अभाव हुन नदिन सेवा निवृत्त तथा इन्टर्नसिपमा रहेका चिकिसत्सक, नर्सलाई तलब र ५० प्रतिशत जोखिम भत्ता पाउने गरी एक वर्ष करारमा खटाउने व्यवस्था मिलाइएको छ।




