विश्वकप फुटबल तथा एसियन कप फुटबलको छनौट चरणको अन्तिम खेलमा १० खेलाडीमा सिमित नेपाल अस्ट्रेलियाविरुद्ध ३–० गोलले पराजित भएको छ । कुवेतको जबर अल अहमद इन्टरनेसल स्टेडियममा भएको खेलमा नेपालले पूरा दोस्रो हाफ १० खेलाडीमा सीमित रहेर खेल्नु परेको थियो ।
खेल पश्चात पोस्ट म्याच कन्फरेन्समा अस्ट्रेलियाका प्रशिक्षक ग्राहम अर्नोल्डले नेपाली पक्षको प्रतिस्पर्धी क्षमताको प्रशंसा गर्दै नेपालको खेलबाट आफू प्रभावित भएको प्रतिक्रिया दिएका छन् ।
“नेपाली खेलाडीहरुले अन्तिम मिनेटसम्म ज्यान दिएर खेले, ‘उनीहरू मैदानमा लडिरहे र दौडन छाडेनन्”, आर्नोल्डले भने। तर हामी यहाँ जुन कामका लागि आएका छौं त्यो अझै समाप्त भएका छैनौं,’ प्रशिक्षक अर्नोल्डले भने।
हारसँगै नेपालले विश्वकप तथा एसियन कप छनौट चरणको समुह ‘बि’ मा चौथो स्थानमा रहँदै खेल सकाएको छ । पाँच टोली सहभागि समुहको पुछारमा चाइनिज ताइपेइ रह्यो । यो खेलपछि अष्ट्रेलिया विश्वकप फुटबलको तेस्रोे चरणको छनौट एवं एसियन कप फुटबलका लागि छनौट भएको छ । नेपाल भने एसियन कपको अर्को चरणको छनौट खेल्न प्ले अफ्को पर्खाइमा पुगेको छ ।




