दलित भन्दै कोठा नदिएको आरोपमा तीन दिन हिरासतमा बसेकी घरबेटी सरस्वती प्रधानले संचारकर्मी रुपा सुनारबिरुद्ध राष्ट्रिय मानब अधिकार आयोगमा उजुरी दिएकी छन् । उनले आफ्नो अनुमति विना फोन रेकर्ड गरि व्यक्तिगत जीवनको स्वतन्त्रता हनन गरेको आरोप लगाउदै संचारकर्मी सुनारबिरुद्ध मानवअधिकार आयोगमा उजुरी दिएकी हुन् ।
प्रधानले निषेधाज्ञाको समयमा पिसिआर रिपोर्टबिना कोठा खोज्न हिँडेर महामारी फैलाउन खोजेको, अपराधिक कार्यका लागि कोठा खोज्न आएको तथा आफ्नो मञ्जुरीबेगर फोन रेकर्ड गरी त्यसैलाई आधार मानेर प्रहरीमा उजुरी दिएकोमा आफ्नो स्वतन्त्रताविपरीत भएकोले कारबाही गरिनु पर्ने बताएकी छन्।
उजुरीमा सरस्वतीले आपराधिक नियतका साथ रुपाले आवश्यकताविना नै कोठा खोज्न आएर बहानावाजी गरेको दावी समेत गरेकी छन् । ‘मेरो मञ्जुरीबेगर फोन रेकर्ड गरी त्यसकै प्रमाण सिर्जना गरी मेरोविरुद्ध छुवाछुतको उजुरी दिई गैरकानूनी एवं मेरो वैयक्तिक जीवनको स्वतन्त्रता विपरीत हुने गरी पूर्वाग्रहपूर्वक थुनाइएको छ’, उनले उजुरीमा भनेकी छन् ।
दुईवटा कोठा १२ हजार रुपैयाँमा दिने भनेर कुरा भैरहदा रुपाले नै जातको कुरा निकालेको सरस्वतीले बताएकी छन् । साथै उनी आफ्नो आमालाई देखाउनुपर्छ भनेर हिँडेको सरस्वतीको भनाइ छ ।
प्रधानले रूपामाथि सञ्चारकर्मी प्रमाणपत्रको दुरूपयोगसमेत गरेको आरोप लगाएकी छन्। घरधनी श्रीमान् र सासु भएको भन्दै उनले आफूलाई घर भाडामा लगाउने अधिकार नभएको स्पष्ट पारेकी छन्। आफूलाई घरधनी भनी झुठा आरोप र जालसाजी गरी मानव अधिकार हनन् गरिएको उनको निवेदनमा उल्लेख गरिएको छ।
‘घरधनी पति मुकुन्द प्रधान र सासुआमा भएकाले मलाई घर भाडामा राख्ने अधिकार नभए पनि मलाई घरधनी भनी झुठा आरोप लगाई जालसाझ गरी मेरो मानव अधिकारको हनन गरेको हो। मैले जातीय छुवाछुतको वादविवाद नै नगरेकोमा पनि निज रूपा सुनार आफैंले म कामीको छोरी हो भनी आफैंले आफ्नो जात देखाई मलाई विवाद गरी मानव विरोधीको अपराध गरेको हो,’ निवेदनमा भनिएको छ।
उनले रूपालाई कोठा खोज्न सहयोग गर्ने सुष्मा राई र सिर्जना राईलाई पनि कारबाही गर्नुपर्ने माग गरेकी छन्।




