राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत सुर्खेतका न्यायाधीश डिलप्रकाश सापकोटाको इजलासले गुर्भाकोट—९ का चौमन घर्ती, भूपेन्द्र बुढा र मिलन भनिने मनबहादुर पुनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार अदालतको आदेशपछि तीनै जनालाई आज जिल्ला कारागार सुर्खेत चलान गरिएको छ । फिरन्ते राउटे समुदाय गुर्भाकोट नगरपालिकामा रहँदा १९ र २३ वर्षीय युवतीलाई उनीहरूले जेठ २१ गते स्थानीय बोटेचौरस्थित एक होटेलमा लगेर यौन हिंसा गरेको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो ।




