अमेरिकाले अनुदानमा आएको जोन्सन एण्ड जोन्सन खोपको पहिलो मात्रा आजदेखि लगाइँदै छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो खोप साउन ४ देखि ६ गतेसम्म लगाउन लागिएको हो ।
जोन्सन एण्ड जोन्सनको खोप एक पटक लगाए मात्रै लगाए पुग्ने बताइएको छ। कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत साउन ६ गतेसम्म यो खोप लगाउने सरकारको तयारी छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ५० देखि ५४ वर्ष उमेर समूहका, पहिलो खोप लगाउन बाँकी सबै तथा पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई खोप दिइने जनाएको छ।
खोप अभियान आज बिहान १० बजेदेखि देशका विभिन्न स्थानहरुमा शुरु हुने मन्त्रालयले जनाएको छ । देशका विभिन्न सरकारी कार्यालय, विद्यालय वा सबैलाई पाएक पर्ने स्थानमा खोप केन्द्र राखिएको बताइएको छ ।
साथै खोप केन्द्रमा बाक्लो भिडभाड र वितरणमा जनमैत्रि व्यवस्थापनमा ध्यान दिन समेत सरकारले निर्देशन गरेको छ । उचित व्यवस्थापन सहित खोप अभियान शुरु हुने विश्वास गरिएको छ ।




